अब्बल बन्दै कान्दाका चेपाङ बालबालिका

१२ जेठ, भरतपुर । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् ।

चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ ।

कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो । यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए ।

शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष १३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । त्यसमध्ये एक जनाले प्लस, सात जनाले ए र दुई जनाले बि प्लस ल्याएका छन् । ‘पहिलो वर्षमा नै यसरी उत्कृष्ट नतिजा ल्याउँदा निकै खुसी छौं’, उनले भने, ‘शिक्षक र विद्यार्थीको अथक मेहनतले यहाँसम्म आइपुगेका हौं ।’

चेपाङ बालबालिका मात्र अध्ययनरत यस विद्यालयको नतिजाले सबैलाई उत्साहित बनाएको उनले बताए । यस विद्यालयमा लक्ष्मी प्रतिष्ठानले आवासीय सुविधासहित छात्रावास सञ्चालन गरेपछि चेपाङ बालबालिकाको शिक्षामा सुधार आएको हो । ‘यहाँ बिहान ४ बजेदेखि राति ९ बजेसम्म नै विद्यार्थीलाई अध्यापन गराइन्छ’, उनले भने, ‘शिक्षकहरु पनि आवासीय रुपमै बसिरहनुभएको छ ।’

राप्ती नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये कान्देश्वरी आधारभूत विद्यालयसहित तीनवटा स्कुलले कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले जानकारी दिइन् ।

यस नतिजालाई नगरपालिकाले समेत सकारात्मक रुपमा लिएको उनले बताइन् । लामिछानेले बजार क्षेत्रका विद्यालयसँगै विकटमा रहेको विद्यालयले पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण कान्दाको विद्यालय बनेको बताउँछिन् ।

कान्दा चितवनको सबैभन्दा विकट ठाउँका रुपमा चिनिन्छ । सवारीसाधन र बिजुली समेत नपुगेको यस ठाउँ शिक्षाको क्षेत्रमा रुपान्तरण हुँदै गइरहेको स्थानीय सीताबहादुर चेपाङले बताए । उनले पछिल्लो समय बालबालिकामा पढाइप्रति लगाव बढेको भन्दै हरेक अभिभावकमा आफ्ना छोराछोरी स्कुल पठाउनुपर्छ भन्ने धारणाको विकास भएको बताए ।

यहाँ पुग्न अझै पनि दुई/तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ । यहाँका विद्यार्थी कक्षा ८ उत्तीर्ण भएपछि अन्य ठाउँमा जानुपर्ने बाध्यता छ । गरिबीका कारण यहाँका बालबालिकाले बीचमै पढाइ छाड्ने गर्दछन । पछिल्लो समय ८ कक्षा उत्तीर्ण बालबालिकालाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा सञ्चालन गरेको छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने गरेको प्रधानाध्यापक थपलियाले बताए ।

यहाँ २०७२ साल अगाडि कक्षा ३ सम्म मात्रै अध्यापन हुने गरेको थियो । विसं २०६७ मा एकै घरका आठ जनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि यहाँ विभिन्न सङ्घसंस्था र राज्यको ध्यान केन्द्रित हुन थाल्यो ।

लक्ष्मी प्रतिष्ठान र मितेरी फाउण्डेशनले गरिबी र अभाव देखेर चेपाङ समुदायको उत्थान र बालबालिकाको शिक्षाका लागि काम गर्न थाले । स्कुलमा लक्ष्मी प्रतिष्ठानले छात्रावास सञ्चालन गरिदिएको छ भने फाउण्डेशनले दुई शिक्षकको व्यवस्था गरिदिएपछि कक्षा ८ सम्मको पढाइ सम्भव भएको हो । त्यसभन्दा अघि यहाँका अधिकांश बालबालिकाले कक्षा ३ पढेपछि बीचमै पढाइ छाड्ने गरेको विद्यालयका प्रअ थपलियाले बताए । ‘अहिले पनि अभिभावकको पढाउने क्षमता छैन, विभिन्न सङ्घसंस्थाले सहयोग नगरेमा यहाँका बालबालिका पढ्नबाट वञ्चित हुनेछन्’, उनले भने ।

विभिन्न दाताको सहयोगमा कक्षा ८ सम्मको पढाइ गरे पनि दरबन्दी अभावका कारण कक्षा सञ्चालन गर्न समस्या आएको थपलियाले बताए । उनका अनुसार निम्न माध्यमिक विद्यालयमा १० जना शिक्षकको दरबन्दी आवश्यक पर्छ । अहिले सातजना शिक्षकको दरबन्दी रहेको उनले बताए । विद्यालयमा शौचालय, पुस्तकालयको अभाव रहेको भन्दै उनले राज्यले विकटको विद्यालयमा ध्यान दिनुपर्ने बताए ।

पचास जना विद्यार्थी पनि नहुने यस विद्यालयमा अहिले १५० जना अध्ययनरत छन । विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि स्रोतसाधनको आवश्यकता समेत बढेको उनले बताए ।

हुम्लाको अदानचुली गाउँपालिकालाई सूचना प्रविधि सामग्री सहयोग

  • चीनले हुम्लाको अदानचुली गाउँपालिकालाई सूचना प्रविधि सामग्री सहयोग गरेको छ।
  • गाउँपालिका अध्यक्ष मोहनबिकम सिंहसहितको टोलीले हिल्सा नाका पुगेर ९० लाख मूल्य बराबरको उक्त सामग्री बुझेका हुन्।
  • सहयोग सामग्रीहरूमा कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर लगायत रहेका छन्।

१२ जेठ, हुम्ला । चीनले हुम्लाको अदानचुली गाउँपालिकालाई सूचना प्रविधि सम्बन्धी सामग्री सहयोग गरेको छ ।

पूराङ काउन्टी च्याल डिकोरेसन कम्पनीले अदानचुली गाउँपालिकालाई उक्त सामग्री सहयोग गरेको गाउँपालिका अध्यक्ष मोहनबिकम सिंहले जानकारी दिए ।

आइतबार गाउँपालिका अध्यक्ष माेहनबिकम सिंहसहितको टोली हुम्लाको हिल्सा नाका पुगेर ९० लाख मूल्य बराबरको उक्त सहयोग सामग्री बुझेका हुन् ।

अध्यक्ष सिंहका अनुसार सहयोग सामग्रीहरूमा कम्प्युटर, प्रिन्टर, प्राेजेक्टर लगायत सामग्री रहेका छन् ।

जगदिशपुर तालमा मोटरबोट, बिथोलियो चराको बास

  • जगदिशपुर तालमा मोटरबोट सञ्चालनले चराको बासस्थानमा असर परेको छ ।
  • जैविक विविधतालाई प्रतिकूल असर पर्ने भन्दै विज्ञहरुले यो रोक्न माग गरेका छन् ।
  • मोटरबोट सञ्चालनले तालको पर्यावरणीय सन्तुलन र विश्वसिमसार सूचीमा सूचीकृत सम्पदाको संरक्षणमा चुनौती थपिएको छ।
  • प्रदेश सरकारले पंक्षी आरक्ष घोषणा गरे पनि मोटरबोट सञ्चालनलाई रोक्न निर्देशन दिइएको छ, तर कार्यान्वयन भएको छैन ।

११ जेठ, बुटवल । अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रको रूपमा परिचित कपिलवस्तुको जगदिशपुर तालमा चराहरुको जीवन चक्र र जैविक विविधतालाई प्रतिकूल असर पर्ने गरी मोटरबोट सन्चालन गरिएको भन्दै विज्ञहरुले रोक्न माग गरेका छन् ।

मुलुकको दोस्रो पन्छी आरक्ष जगदिशपुर तालमा चालक सहित १० सिटे मोटरबोट एक महिना बढी समयदेखि सञ्चालन भइरहेको छ । यो क्रियाकलापले चराको बासस्थान बिथोलिएको र जलचर, स्तनधारी तथा सरिसृप जीवजन्तुलाई पनि प्रतिकूल असर पारेको चराविज्ञ कृष्ण भुसालले बताए ।

‘अन्तर्राष्ट्रिय महत्वको विश्व सिमसार घोषित तालमा मान्छे र मोटरको चर्को ध्वनि प्रदूषण हुने गरी कुनै पनि तालमाथि मेशिन चलाउनु एकदमै गलत हो, यसले निर्भय तरिकाले बसिराखेका चरा र जीवजन्तुमा भय र त्रास हुन्छ उनीहरु सहजरुपमा बस्ने वातावरण बिग्रन्छ’ भुसालले भने, ‘यस्तो कार्यलाई नरोक्ने हो भने जैविक विविधता र जलीय पर्यावरणमा नकारात्मक असर पर्छ, दीर्घकालीन चुनौति थपिन्छ ।’

प्रदेश सरकारले समेत पंक्षी आरक्ष घोषणा गरेकाले पंक्षीलाई असर गर्ने गतिविधि रोक्न प्रदेश सरकारको ध्यान जानुपर्ने भुसालले औंल्याए ।

जगदिशपुर तालमाथि १० जना मान्छे अट्ने दुईवटा मोटरबोट गत वैशाख ५ गतेदेखि सञ्चालन हुँदै आएको छ । जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च नामक गैरसरकारी संस्थाले वैशाखदेखि आगामी चैतसम्मका लागि ८ लाख ५५ हजार रुपैयाँमा मोटरबोट सञ्चालनको ठेक्का दिएको छ ।

वन तथा वातावरण क्षेत्रमा क्रियाशील स्थानीय जयप्रकाश पाण्डेले मोटरबोट सञ्चालन गर्न नपाउने प्रावधान हुँदाहुँदै जबर्जस्ती ठेक्का लगाइएको बताए । ‘दुई वर्ष अघि पनि तालमा मोटरबोट चलाउन ठेक्का लगाइएको थियो, तर विज्ञहरुले गलत भयो भनेपछि साता–दश दिनमै डिभिजन वन कार्यालय कपिलवस्तुले रोक लगाएको थियो,’ पाण्डेले भने, ‘तर यसपटक एक महिना बढी समय हुँदा पनि नरोकिंदा चरा र अन्य जीवजन्तुसँगै जैविक विविधतामा असर पुगेको छ ।’

जगदिशपुर तालको चारैतिर जैविक विविधता अनुकूलका विभिन्न प्रजातिका फूल र बोटबिरुवा लगाएर सुन्दर बनाउन सकिने र त्यसमार्फत ठूलो संख्यामा पर्यटक आकर्षित गर्नसके मोटरबोट ठेक्कामा दिएर प्राप्त हुने भन्दा बढी आम्दानी लिन सकिने पाण्डे बताउँछन् ।

२ बालिकालाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ

  • संखुवासभाको प्रहरीले दुई युवकलाई १२ जेठमा पक्राउ गरी बलात्कारको आरोपमा अनुसन्धान थालेको जनाएको छ।
  • उनीहरूले ७ जेठमा खाँदबारी बजारमा १६ र १७ वर्षीया बालिकालाई फकाई बलात्कार गरेको आरोप छ।
  • प्रहरीले जाहेरीपछि पक्राउ परेका दुई युवकलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

१२ जेठ, काठमाडौं । दुई बालिकालाई बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका-२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका ३ का २८ वर्षीय प्रकाश राई छन् ।

उनीहरुले ७ जेठमा खाँदबारी बजार घुम्न आएका १६ र १७ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको पाइएको संखुवासभा प्रहरीका इन्स्पेक्टर तथा सूचना अधिकारी अभिषेक कुमार श्रेष्ठले बताए ।

खाजा खाने, घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर खाँदबारीको एक होटलमा लगेर उनीहरुले बलात्कार गरेको आरोप छ । पीडित बालिकाको तर्फबाट जाहेरी पछि प्रहरीले आइतबार पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ ।

गृहमन्त्रीबारे उठेका प्रश्नमा छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

१२ जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक माथि उठेका प्रश्नमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार दिउँसो अपरान्ह ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकमा छलफलका लागि तीन एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

छलफलका विषयमा गृहमन्त्री लेखकमाथि उठेको प्रश्न, संसदमा रास्वपाले निर्वाह गर्नुपर्ने भूमिका र विविध रहेको झाले जानकारी गराए ।

काँक्रा बेचेर मासिक १ लाख कमाउँछन् गुल्मीका युवा

  • गुल्मीका विष्णु भण्डारीले गाउँमै बाँझो जमिनलाई सदुपयोग गरी कृषिमा सफलता हासिल गरेका छन्।
  • उनीले काँक्रा, लौका, तोराय, फर्सी, खुर्सानीलगायत तरकारी उत्पादन गरी बिक्रीबाट लाखौं आम्दानी गरेका छन्।
  • उहाँले टनेलको आवश्यकतालाई ध्यानमा राख्दै सरकारी सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ।

१२ जेठ, तम्घास । देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका बेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेसामा छलाङ मारेका हुन् ।

खर्ज्याङको ४५ रोपनी जग्गामा उनले काँक्रा, लौका, तोराय, फर्सी, खुर्सानीलगायत तरकारी लगाएका छन् । खुकुरापालनसँगै मासु व्यवसायसमेत गरेका भण्डारीको मुख्य उत्पादन काँक्रा हो ।

विसं २०७२ मा ‘घरेलु तथा साना उद्योग विकास कार्यालय’मा ‘पूर्णिमा कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरेर व्यवसाय सुरू गरेका भण्डारीले गत वर्ष मात्रै ७ लाखको काँक्रा बिक्री गरे । सुरूवाती चरणमा थोरैथोरै उत्पादन गरे पनि अहिले व्यवसाय फस्टाएको भण्डारी बताउँछन् ।

‘गतवर्ष दुई हजार बोटमा फलेका काँक्राबाट रु सात लाख आम्दानी भयो,’ उनले भने, ‘यो वर्ष १० हजार बिरूवा लगाएको छु, उत्पादन भएका सबै काँक्रा बिक्री हुँदा ३० लाख आम्दानी हुन्छ ।’ दुई वर्ष अगाडिसम्म काँक्राको मूल्य प्रतिकेजी ४० रूपैँयासम्म रहेको थियो ।

तर गत वर्ष मूल्य बढेर रु एक सय ४० सम्म पुग्यो । जसले गर्दा उनको आम्दानी पनि बढेको छ । गत वर्ष भएको आम्दानीबाट प्रेरित भएर यो वर्ष बिरूवा थपेको भण्डारीले बताए । यो सिजनको लागि पनि काँक्रा तयार भइसकेका छन् । गत मङ्सिर ३० गते रोपेका काँक्रा चैत १० बाट बिक्री सुरू भएका थिए ।

अहिलेको सिजनमा मात्रै उनले तीन सय क्विन्टल काँक्रा बिक्री गरिसकेका छन् । अहिले फलेका काँक्रा सके अहिले नै सबै बिक्री गर्ने, नभए पाकेका पहेँला काँक्रा दसैँ–तिहारको समयमा अचारको लागि बिक्री गर्ने उनले बताए ।

दसैँ–तिहारमा पनि बिक्री नभए बीउको लागि प्रयोग गर्ने भण्डारीको भनाइ छ । यो सिजनमा उनको एउटै बगैँचाबाट दैनिक १० क्विन्टलसम्म काँक्रा बिक्री भइरहेको छ । भण्डारीले काँक्रासँगै बेमौसमी मकै उत्पादन, कुखुरापालन र दुई पोखरीमा मत्स्यपालन पनि गरेका छन् । उनले सबै व्यवसायबाट खर्च कटाउँदा पनि मासिक न्यूनतम एक लाख रूपैँया बचत हुने सुनाए ।

अहिलेको गर्मी मौसम भएकोले काँक्रो अत्याधिक बिक्री भइरहेको छ । आगामी असार महिनासम्म काँक्रो बिक्री हुने सिजन छ । गर्मी सिजन सुरू भइसकेको हुँदा यस पटक बाहिरबाट जिल्लामा काँक्रो भित्रिसकेको छैन। जसले गर्दा बजारमा काँक्रोको माग अत्याधिक रहेको छ ।

काँक्रो खानाको साथसाथै विवाह, महोत्सव तथा पाठपूजाको समयमा पनि प्रयोग हुन्छ । भण्डारीले यस पटक चार सय क्विन्टल काँक्रो उत्पादन गर्ने लक्ष्य लिएका छन् । उनले अहिले एक हजार बेमौसमी काँक्रोका थप बिरूवा लगाइसकेका छन् । उनको काँक्रा स्थानीय बजारका साथसाथै तम्घास, पाल्पा, बुटबल र काठमाडौँसम्म पुग्ने गरेको छ ।

उनलाई घरपरिवारको पनि पूर्ण साथ मिलेको छ। घर परिवारका चार जनाबाहेक थप चारजनालाई मासिक तलबमा रोजगारी समेत दिएका छन् । पछिल्लो समयमा गाउँमा किसानलाई बाँदर, बदेँल, दुम्सी जस्ता वन्यजन्तुले बालीनालीमा हानीनोक्सानी गर्दै गएको अवस्था छ। तर भण्डारीले भने उक्त समस्या नभएको हुँदा कृषि उत्पादन गर्न सहज भएको बताउँछन् । भण्डारीको लोभलाग्दो कृषि कर्मले जिल्लामा युवा शक्तिबाट किसानलाई थप हौसला मिलेको छ। ‘गर्न सके गाउँमै थुप्रै सम्भावना छन्,’ भण्डारीले भने ।

राज्यले टनेल दिए हुन्थ्यो

काँक्रा बिक्री गरेर आम्दानी लिन जति सजिलो छ, उत्तिकै मेहनत उत्पादन गर्न पनि छ । वर्षा धेरै हुँदा र बिक्री नहुँदा उनले थुप्रै पटक घाटा पनि सहनुपर्‍यो । काँक्राको लागि टनेल आवश्यक पर्नेमा उनले भने खुल्ला चौरमा उत्पादन गर्दै आएका छन् ।

वडा कार्यालयमा थुप्रै पटक टनेलको लागि आवेदन दिए पनि सहयोग नपाएको भण्डारीले सुनाए । ‘थुप्रै पटक धाएँ, पाइन,’ उनले भने, ‘मकै शत प्रतिशत, नभए ५० प्रतिशतसम्म अनुदानमा हाइटेक टनेल दिए उत्पादन अझ बढाउने थिएँ।’

टनेल नहुँदा वर्षाको कारणले गत मात्रै पाँच क्विन्टल काँक्रा नोक्सान नभएको उनले बताए । सात लाखको काँक्रा बिक्री गरिसकेपछि थप पाँच क्विन्टल नोक्सान हुँदा धेरै मर्का नपरेको उनी बताउँछन् । ‘अब निरन्तर काँक्राखेती गर्ने हो, अरू पेसा सहायक हुन्,’ भण्डारीले भने, ‘यसमा राज्यको तर्फबाट केही सहयोग भए आभारी हुने थिएँ।’

हुम्ला हिमपहिरो अध्ययन टोलीले ५ हजार ३५० मिटर उचाइमा भेट्टायो ३ वटा हिमताल

  • हुम्ला हिमपहिरोबारे अध्ययन गर्न गएको टोलीले तीन वटा हिमताल फेला पारेको जनाएको छ।
  • अध्ययन टोलीले ५ हजार ३ सय ५० मिटर उचाइमा तीन वटा हिमताल भेटिएको पुष्टि गरेको छ।
  • १ जेठमा आएको हिमपहिरोका कारण तिलगाउँका १८ घरका ३२ जना विस्थापित भएका थिए ।

१२ जेठ, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँमा आएको हिमपहिरोको कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी अध्ययन टोलीले तीन वटा हिमताल फेला परेको जनाएको छ।

तिलगाउँमा हिमपहिरो आउनुका कारणबारे अध्ययन गर्न पुगेको विज्ञ टोलीले ५ हजार ३ सय ५० मिटर उचाइमा तीन वटा हिमताल फेला परेको जनाएको छ ।

खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटाका अनुसार यसअघि दुई वटा हिमताल देखिएको स्थानमा तीन वटा हिमताल भेटिएको उनले पुष्टि गरे ।

अध्ययन टोलीमा बास्कोटा सहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी छन् ।

१ जेठ राति आएको हिमपहिरोले नाम्खा गाउँपालिका-६ तिलगाउँका १८ घरका ३२ जना विस्थापित भएका थिए । हिमपहिरोबाट लघु जलविद्युत् तथा खानेपानी आयोजना, सिँचाइ, काठेपुल, ४ सय रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको थियो ।

खाना पकाउने ग्यास लिक भएर आगो लाग्दा दाजु–बहिनीको मृत्यु

  • ग्यास लिक भएर आगलागी हुँदा कपिलवस्तुमा एकै घरका दुई व्यक्तिको मृत्यु भएको छ।
  • घटना जयनगर, शुद्धोधन गाउँपालिका–५ मा १२ जेठमा भएको हो।
  • प्रहरीले प्रारम्भिक अनुसन्धानमा सिलिण्डरको रेगुलेटर जोड्ने क्रममा लिक भएको अनुमान गरेको छ।

१२ जेठ, बुटवल । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ ।

ग्याँस लिक भएर आगो लाग्दा पर्शुराम यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

आगोमा जलेर गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको थियो । त्यहाँबाट शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै ज्यान गएको र सोनमको भैरहवामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिकित्सकहरुका अनुसार शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको थियो ।

आगोमा जलेर गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको थियो । त्यहाँबाट शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै ज्यान गएको र सोनमको भैरहवामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिकित्सकहरुका अनुसार शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको थियो ।

१० वर्षपछि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ

१२ जेठ, काठमाडौं । नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् । उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् ।

ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा प्रचण्ड र श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरे ।

माओवादी र महिन्द्रराय यादव नेतृत्वको नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रमा फर्किएका हुन् ।

उनले नेसपाका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।

माओवादीले भन्यो– गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ

  • नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ।
  • बैठकले मन्त्रीले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले बताए।
  • माओवादी केन्द्रले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि मन्त्रीको राजीनामा आवश्यक भएको ठहर गरेको छ।

१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ ।’

स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ । प्रवक्ता सापकोटाले भने, ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’