
- जगदिशपुर तालमा मोटरबोट सञ्चालनले चराको बासस्थानमा असर परेको छ ।
- जैविक विविधतालाई प्रतिकूल असर पर्ने भन्दै विज्ञहरुले यो रोक्न माग गरेका छन् ।
- मोटरबोट सञ्चालनले तालको पर्यावरणीय सन्तुलन र विश्वसिमसार सूचीमा सूचीकृत सम्पदाको संरक्षणमा चुनौती थपिएको छ।
- प्रदेश सरकारले पंक्षी आरक्ष घोषणा गरे पनि मोटरबोट सञ्चालनलाई रोक्न निर्देशन दिइएको छ, तर कार्यान्वयन भएको छैन ।
११ जेठ, बुटवल । अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रको रूपमा परिचित कपिलवस्तुको जगदिशपुर तालमा चराहरुको जीवन चक्र र जैविक विविधतालाई प्रतिकूल असर पर्ने गरी मोटरबोट सन्चालन गरिएको भन्दै विज्ञहरुले रोक्न माग गरेका छन् ।
मुलुकको दोस्रो पन्छी आरक्ष जगदिशपुर तालमा चालक सहित १० सिटे मोटरबोट एक महिना बढी समयदेखि सञ्चालन भइरहेको छ । यो क्रियाकलापले चराको बासस्थान बिथोलिएको र जलचर, स्तनधारी तथा सरिसृप जीवजन्तुलाई पनि प्रतिकूल असर पारेको चराविज्ञ कृष्ण भुसालले बताए ।
‘अन्तर्राष्ट्रिय महत्वको विश्व सिमसार घोषित तालमा मान्छे र मोटरको चर्को ध्वनि प्रदूषण हुने गरी कुनै पनि तालमाथि मेशिन चलाउनु एकदमै गलत हो, यसले निर्भय तरिकाले बसिराखेका चरा र जीवजन्तुमा भय र त्रास हुन्छ उनीहरु सहजरुपमा बस्ने वातावरण बिग्रन्छ’ भुसालले भने, ‘यस्तो कार्यलाई नरोक्ने हो भने जैविक विविधता र जलीय पर्यावरणमा नकारात्मक असर पर्छ, दीर्घकालीन चुनौति थपिन्छ ।’
प्रदेश सरकारले समेत पंक्षी आरक्ष घोषणा गरेकाले पंक्षीलाई असर गर्ने गतिविधि रोक्न प्रदेश सरकारको ध्यान जानुपर्ने भुसालले औंल्याए ।
जगदिशपुर तालमाथि १० जना मान्छे अट्ने दुईवटा मोटरबोट गत वैशाख ५ गतेदेखि सञ्चालन हुँदै आएको छ । जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च नामक गैरसरकारी संस्थाले वैशाखदेखि आगामी चैतसम्मका लागि ८ लाख ५५ हजार रुपैयाँमा मोटरबोट सञ्चालनको ठेक्का दिएको छ ।
वन तथा वातावरण क्षेत्रमा क्रियाशील स्थानीय जयप्रकाश पाण्डेले मोटरबोट सञ्चालन गर्न नपाउने प्रावधान हुँदाहुँदै जबर्जस्ती ठेक्का लगाइएको बताए । ‘दुई वर्ष अघि पनि तालमा मोटरबोट चलाउन ठेक्का लगाइएको थियो, तर विज्ञहरुले गलत भयो भनेपछि साता–दश दिनमै डिभिजन वन कार्यालय कपिलवस्तुले रोक लगाएको थियो,’ पाण्डेले भने, ‘तर यसपटक एक महिना बढी समय हुँदा पनि नरोकिंदा चरा र अन्य जीवजन्तुसँगै जैविक विविधतामा असर पुगेको छ ।’
जगदिशपुर तालको चारैतिर जैविक विविधता अनुकूलका विभिन्न प्रजातिका फूल र बोटबिरुवा लगाएर सुन्दर बनाउन सकिने र त्यसमार्फत ठूलो संख्यामा पर्यटक आकर्षित गर्नसके मोटरबोट ठेक्कामा दिएर प्राप्त हुने भन्दा बढी आम्दानी लिन सकिने पाण्डे बताउँछन् ।