च्याउको मूल्य प्रतिकेजी ९ सय

१२ जेठ, काठमाडौं । बजारमा सिताके च्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार सिताके च्याउको मूल्य बढेको देखाएको हो ।

सोमबार सिताके च्याउको प्रतिकिलो मूल्य १ सय ४४ रुपैयाँ बढेको छ । आइतबार सिताके च्याउ प्रतिकिलो ७ सय ५६ रुपैयाँमा किनबेच भएको थियो । आज सोमबार भने सिताके च्याउको मूल्य प्रतिकिलो ९ सय रुपैयाँ कायम छ ।

यस्तै बजारमा कन्य, डल्ले, राजा र सिताके गरि ४ प्रकारका च्याउ किन्न पाइन्छ । कालीमाटी बजारमा कन्य च्याउ प्रतिकिलो १ सय ७०, डल्ले च्याउ २ सय ९३ र राजा च्याउ २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

लिचीको भाउ बढ्यो, किलोको कति ?

१२ चैत, काठमाडौं । बजार भित्रिएको २-४ दिनमै लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिचीको भाउ बढेको देखाएको हो ।

बजारमा लिची भारतीय र लोकल गरि २ प्रकारका आएका छन् । आइतबारको तुलनामा सोमबार लोकल लिचीको प्रतिकिलो मूल्य ७३ रुपैयाँ बढेको छ ।

७ सय घट्यो सुन

१२ जेठ, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो ।

यसअघि वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदीको भाउ स्थिर छ । केही दिनयता प्रतितोला २ हजार ५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

समग्र मागमा सुधार आउँदा वित्तीय क्षेत्रको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुँदै

११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले समग्र मागमा सुधार आएका कारण वित्तीय क्षेत्रको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुने जनाएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले अर्थतन्त्रको क्षमता उपयोगमा सुधार आउन थालेको दाबी गरेको हो ।

वित्तीय क्षेत्रको न्यून ब्याजदरका कारण कर्जा प्रवाहमा सुधार हुँदै जाँदा आर्थिक गतिविधिमा सुधार आएको केन्द्रीय बैंकले जनाएको छ । तर, वित्तीय क्षेत्रको बढेको अधिक तरलताले पनि कर्जाको माग बढ्न नसकेको स्पष्ट हुन्छ ।

आइतबारसम्म बैंक तथा वित्तीय संस्थाको ३ अर्ब २९ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा थुप्रिएको छ । यसैलाई व्यवस्थापन गर्न भन्दै दैनिक अनिवार्य नगद मौज्दात समेत बढाइ ९० प्रतिशत बनाएको केन्द्रीय बैंकले आर्थिक गतिविधिमा सुधार आएको दाबीका आधार भने कजोर देखिन्छ ।

केन्द्रीय बैंकले गत आवको तुलनामा चालु आव चैतसम्ममा कर्जा प्रवाह बढेको छ । आव २०८१/८२ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ६७ अर्ब ६० करोड थप कर्जा प्रवाह भएको छ । कर्जा प्रवाहमा भएको क्रमिक वृद्धिले आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुगेको छ । त्यसका आधारमा आर्थिक गतिविधि दाबी गरेको देखिन्छ । साथै, समान्य बढेको कर्जाका कारण बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुँदै जाने अनुमान समेत केन्द्रीय बैंकले गरेको छ । जुन वास्तविकता भन्दा धेरै टाढा देखिन्छ ।

मुद्रास्फीति लक्षित सीमाभन्दा कम छ । तसर्थ, आर्थिक गतिविधिमा आएको सुधारलाई दिगो बनाउन सहयोग पुग्ने गरी आन्तरिक माग व्यवस्थापन हुन सकेमात्र आर्थिक तथा वित्तीय सन्तुलन कायम राख्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

त्यसले गर्दा पनि ब्याजदरमा आउने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सम्भव हुने केन्द्रीय बैंकको तर्क छ । सन्तुलित स्तरमा मौद्रिक तरलता कायम राखी समग्र आन्तरिक माग व्यवस्थापन गर्ने मौद्रिकको समीक्षाले नीतिले जोड दिएको छ ।

शोधनान्तर बचतका कारण मौद्रिक विस्तार मौद्रिक नीतिमा प्रक्षेपण गरिएको हाराहारी छ । वार्षिक बिन्दुगत आधारमा चैत २०८१ मा विस्तृत मुद्राप्रदाय ११.६ प्रतिशतले वृद्धि भएको छ । चैत २०८० मा विस्तृत मुद्राप्रदाय १२.४ प्रतिशतले वृद्धि भएको थियो । बैंक तथा वित्तीय संस्थाबीच भारित औसत अन्तरबैंक दर चैत २०८१ मा ३ प्रतिशत छ ।

चैत २०८० मा भारित औसत अन्तरबैंक दर ३.१० प्रतिशत थियो । विदेशी विनिमय प्राप्ति तथा खर्चको स्थिति र प्रवृत्तिको विश्लेषण गर्दा चालु आव बाँकी अवधिमा पनि शोधनान्तर बचत कायमै रहने अनुमान केन्द्रीय बैंकको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भएको वृद्धिका कारण विप्रेषण आप्रवाह सन्तोषजनक रहने अनुमान रहे तापनि आर्थिक गतिविधिमा सुधार हुँदै जाँदा क्रमिक आयात वृद्धि भई विदेशी विनिमय सञ्चिति उपयोग पनि बढ्ने देखिन्छ ।

पछिल्लो आन्तरिक एवं वाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशा सन्तुलित बनाइएको छ । आन्तरिक आर्थिक गतिविधि, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता एवं मुद्रास्फीतिको अवस्था दृष्टिगत गरी मौद्रिक उपायमा आवश्यकता अनुसार परिमार्जन गर्दे जाने केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखेको छ । नीतिगत दरलाई विद्यमान ५ प्रतिशत, तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशत चालु आव तेस्रो त्रैमासमा पनि यथावत राखेको छ ।

साथै, विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलता सम्बन्धी अनुपात यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलता अवस्था र पछिल्लो समय बैंकले खुला बजार कारोबार उपकरणमा गरेको सुधार मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गर्ने भएको छ ।

समीक्षा मार्फत विद्यमान सेयर धितो कर्जाको जोखिम भार १ सय २५ प्रतिशतबाट घटाइ १ सय प्रतिशत कायम गरको छ ।

लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्था समावेश गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’ जारी गर्ने समीक्षामा उल्लेख छ ।

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को संशोधन बमोजिम चेक अनादर सम्बन्धी बेहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्नेसमेत समिक्षामा उल्लेख छ ।

‘प्रत्यक्ष आन्तरिक लगानी प्रोत्साहन गर्ने नीति छ’

११ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्रत्यक्ष आन्तरिक लगानी प्रोत्साहन गर्ने बताएका छन् ।

आइतबार ललितपुरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण सम्बन्धी सरोकारवालासँगको छलफलमा उपाध्यक्ष अधिकारीले लगानी गर्ने संस्था भएको तर प्रोत्साहन नहुने अवरोध खडा गर्ने जस्ता कार्य भएको भन्दै आयोगले त्यसमा नजिकबाट काम गर्न खोजेको बताए ।

उनले संस्थाहरू व्यवस्थित रूपमा सञ्चालन गर्न कहाँ–कहाँ अवरोध छ, कहाँ दोहोरिएको छ, त्यसबारे आयोगले समन्वय गर्ने र त्यससम्बन्धी काम अगाडि बढाइसकेको समेत जानकारी दिए ।

उपाध्यक्ष अधिकारीले जुन निकायले दुई जना मान्छेका लागि रोजगारी सिर्जना गर्दैन, त्यसलाई कर छुट चाहिएको भन्दै कर छुटले सरकारको ऋणमात्र बढाउने काम भएको बताए । ठूलो लगानी भएको र रोजगारी सिर्जना गरिरहेकालाई मात्र कर छुट दिन सकिने उनले स्पष्ट पारे ।

एसियाली बेल्ट कुस्ती च्याम्पियनसीपमा नेपालका सुरेश चुनाराले जिते कांस्य पदक

नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्ल्यूडब्ल्यू एसियाली बेल्ट कुस्ती (अलिश) च्याम्पियनसीप- २०२५ मा नेपालका सुरेश चुनाराले कांस्य पदक जितेका छन्।

दिल्लीस्थित तालकटोरा इनडोर स्टेडियममा आयोजित प्रतियोगिताको ८० केजी पुरुष फ्री स्टाइल प्रतिस्पर्धामा चुनाराले शनिबार तेस्राे स्थान प्राप्त गर्दै कांस्य पदक जितेकाे नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाकारी दिए।

उक्त प्रतिस्पर्धामा काजकिस्तानका अइबाेलाेट अमानाेभ पहिलाे तथा भारतका कुभेनु पुराे दाेस्राे भए।

सम्मान समारोहमा सुरेश चुनारालाई आयोजक संस्थाहरू एआइटीडब्ल्यूपीएफ, एशियन अलिश फेडेरेसन र वर्ल्ड अलिश फेडेरेसनका प्रतिनिधिहरूले प्रमाणपत्र र पदक प्रदान गरेका थिए।

एसियाका विभिन्न राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको प्रतियाेगितामा चुनाराले अनुशासन, मेहनत र समर्पणसहित प्रदर्शन गरी कांस्य पदक प्राप्त गर्न सफल भएकाे संघका अध्यक्ष कुसारीले बताए।

कुशल परेरा र सिकन्दर राजा चम्किँदा लाहोरले जित्यो पीएसएलको उपाधि

१२ जेठ, काठमाडौं । कुशल परेरा र सिकन्दर राजाको फिनिसिङमा बलियो लक्ष्य पछ्याउँदै लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा लाहोरले क्वेट्टा ग्लाडिएटर्सलाई ६ विकेटले हराएको हो । २०२ रनको लक्ष्य लाहोरले १ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

लाहोरका लागि परेराले अविजित रहँदै ६२ रन बनाए भने सिकन्दर राजा ७ बलमा २२ रनमा अविजित रहे । अन्तिम ओभरमा १३ रन आवश्यक रहँदा सिकन्दरले चौथो बलमा छक्का र पाँचौ बलमा चौका प्रहार गरे ।

त्यसअघि अघिल्लो ओभरमा परेराले छक्का र चौकासहित राजासँग मिलेर कुल १८ रन जोडेपछि जित सहज बनेको थियो । क्वेटाका मोहम्मद आमिर, फहीम अशरफ, अबरर अहमद र उस्मान तरिकले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्वेटाले २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो । हसन नवाजले सर्वाधिक ७६ रन बनाए । अभिष्का फर्नान्डोले २९ तथा फहीम अशरफले २८ रन बनाए ।

लाहोरका शाहीन अफ्रिदीले ३ विकेट लिँदा सलमान मिर्जा र हारिस राउफले २-२ तथा सिकन्दर राजा र रिशाद होसेनले १-१ विकेट लिए ।

सिटी, चेल्सी र न्युकासल च्याम्पियन्स लिगमा छनोट

१२ जेठ, काठमाडौं । म्यानचेष्टर सिटी, चेल्सी र न्युकासल युनाइटेड अर्को सिजन युरोपियन च्याम्पियन्स लिगमा छनोट भएका छन् ।

आइतबार राति भएको प्रिमियर लिगको अन्तिम चरणको खेलको नतिजापछि च्याम्पियन लिभरपुल र आर्सनलसँगै यी तीन क्लबले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का गरेका हुन् ।

म्यानचेष्टर सिटीले अन्तिम खेलमा फुलहमलाई २-० ले हराएपछि तेस्रो स्थानमा लिग सकायो । सिटीले ३८ खेलबाट ४१ अंक जोड्यो ।

अर्को खेलमा चेल्सीले नटिङहम फरेस्टलाई १-० ले हरायँदै ६९ अंक जोडेर चौथो स्थानमा रह्यो । फरेस्ट भने शीर्ष पाँचमा नअटाएपछि च्याम्पियन्स लिगमा छनोट हुन सकेन । फरेस्ट ६५ अंकसहित सातौं स्थानमा रह्यो ।

यस्तै अर्को खेलमा एभरटनसँग १-० ले पराजित भएपनि अन्य नतिजापछि न्युकासल भाग्यमानी बन्दै पाँचौ स्थानमा रहेर च्याम्पियन्स लिगमा छनोट भएको हो । एस्टन भिल्ला र न्युकासलको समान ६६ अंक रहेपनि न्युकासल गोल अन्तरमा अघि रहेको हो ।

एस्टन भिल्ला अन्तिम खेलमा म्यानचेष्टर युनाइटेडसँग २-० ले पराजित हुँदा न्युकासल भाग्यमानी बन्यो ।

यसैगरी च्याम्पियन लिभरपुलले अन्तिम खेलमा क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेल्दै लिग सकाएको छ । यसअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले अन्तिम खेलमा प्रिमियर लिगको ट्रफी उचाल्यो ।

दोस्रो स्थानको आर्सनलले साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै सुखद अन्त्य गरेको छ ।

अन्य खेलमा ब्राइटनले टोटनहमलाई ४-१ ले, वेष्टहमले इप्स्विच टाउनलाई ३-१ ले र लेस्टर सिटीले बर्नमाउथलाई २-० ले पराजित गर्दा वल्भ्स र ब्रेन्टफोर्डले १-१ को बराबरी खेलेका छन् ।

प्रिमियर लिगबाट शीर्ष पाँच क्लबसहित युरोपा लिग उपाधि जितेको टोटनहम गरी ६ क्लबले अर्को सिजन युरोपियन च्याम्पियन्स लिग खेल्नेछ ।

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको जित

१२ जेठ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगाको अन्तिम खेलमा एथ्लेटिक विल्वाओलाई ३-० ले पराजित गर्दै सिजन सकाएको छ ।

यसअघि नै ला लिगा उपाधि जितिसकेको बार्सिलोनाले अन्तिम खेल जितसहित सुखद अन्त्य गरेको हो ।

विल्वाओको मैदानमा भएको खेलमा लेवान्डोस्कीले १४औं मिनेटमा पहिलो गोल गरेका थिए । हान्सी फ्लिकको टिमले यस सिजन गरेको यो एक सयौँ गोल समेत हो । लेवान्डोस्कीले १७औं मिनेटमा दोस्रो गोल गरे । यससँगै लेवान्डोस्कीले यस सिजन ला लिगामा २७ र सग्रमा ४० गोल गरे । ला लिगाको सर्वाधिक गोलकर्ता भने रियल मड्रिडका केलिएन एमबाप्पे बने । रिउलमा पहिलो सिजनमै उनले ३१ गोल गरे ।

यस्तै डानी ओल्मोले इन्जुरी टाइममा पेनाल्टीबाट गोल गरे ।

२८औं पटक ला लिगाको उपाधि जितेको बार्सिलोनाले यस सिजन ३८ खेलबाट ८८ अंक जोड्यो । जसमा २८ जित र ४ बराबरीको नतिजा निकालेको थियो भने ६ खेलमा पराजित भएको थियो । बार्सिलोनाले दोस्रो स्थानको रियलमाथि ४ अंकको अग्रतासहित लिग सकाएको हो ।

यसअघि नै अर्को सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको विल्वाओ ३८ खेलबाट ७० अंक जोडेर चौथो स्थानमा रह्यो ।

आईपीएल भविष्यबारे धोनीले भने : निर्णय लिन प्रशस्त समय बाँकी छ

१२ जेठ, काठमाडौं । चेन्नई सुपर किंग्सका स्टार खेलाडी तथा यस सिजनका निमित्त कप्तान एमएस धोनीले आईपीएलको आगामी सिजन खेल्ने वा नखेल्ने भन्ने निर्णय गर्न प्रशस्त समय बाँकी भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार टोलीको अन्तिम लिग खेलमा गुजरात टाइटन्सलाई हराएपछि धोनीले अहिलेका लागि होमटाउन राँची फर्किने र बाइक राइडको मज्जा लिने योजनामा रहेको बताएका हुन् ।

‘म खेल्दिनँ भनेर भन्न पनि चाहन्न, खेल्नेछु भनेर पनि पक्का छैन’ ४३ वर्षीय धोनीले भने, ‘अहिले निर्णय गर्न कुनै हतार छैन। मसँग ४-५ महिना समय छ, त्यसपछि सोचेर निर्णय लिन्छु।’

धोनीको उमेर आउँदो जुलाईमा ४४ वर्ष पुग्नेछ जसको मतलब अर्को सिजन सुरु हुँदा उनी ४५ वर्षको नजिक हुनेछन् । उनले भने, ‘हरेक वर्ष फिट रहन अझ बढी प्रयास गर्नु पर्छ। यो प्रोफेशनल क्रिकेट हो – केवल प्रदर्शन हेरेर खेल्ने या नखेल्ने निर्णय हुँदैन। चाहना, फिटनेस र टिमलाई चाहिएको योगदान कति दिन सक्छु भन्ने कुरा महत्त्वपूर्ण हो।’

उनले प्रदर्शनकै आधारमा सन्यास लिने कुरालाई भने नकार्दै यदि प्रदर्शनको आधारमा सन्यास लिन थालियो भने युवा खेलाडीहरूले २२-२३ वर्षमै खेल्न छाड्ने टिप्पणी गरेका थिए ।

आईपीएलको अन्त्यतिर राम्रो प्रदर्शन गरेपनि सिजनभर चेन्नईको प्रदर्शन कमजोर रह्यो। टोलीले १४ मध्ये केवल ४ खेल जितेर इतिहासमै पहिलोपटक पुछारमा रहेर सिजन टुंग्यायो। प्लेअफको दौडबाट सबैभन्दा पहिले बाहिरिने टोली पनि चेन्नई नै थियो ।

आइतबारको अन्तिम खेलमा भने चेन्नईले सिजनकै उत्कृष्ट प्रदर्शन गर्दै २३० रनको योगफल बनाएर गुजरातलाई १४७ रनमा समेट्यो। खेलपछि अहमदाबादको भीडले धोनीको सम्भावित अन्तिम खेल सम्झेर ‘धोनी, धोनी’को नारा लगाएका थिए ।

सिजनको बीचमा कप्तान ऋतुराज गायकवाड घाइते भएपछि पूर्वकप्तान रहिसकेका धोनीले कप्तानी सम्हालेका थिए।