‘प्रत्यक्ष आन्तरिक लगानी प्रोत्साहन गर्ने नीति छ’

११ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्रत्यक्ष आन्तरिक लगानी प्रोत्साहन गर्ने बताएका छन् ।

आइतबार ललितपुरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण सम्बन्धी सरोकारवालासँगको छलफलमा उपाध्यक्ष अधिकारीले लगानी गर्ने संस्था भएको तर प्रोत्साहन नहुने अवरोध खडा गर्ने जस्ता कार्य भएको भन्दै आयोगले त्यसमा नजिकबाट काम गर्न खोजेको बताए ।

उनले संस्थाहरू व्यवस्थित रूपमा सञ्चालन गर्न कहाँ–कहाँ अवरोध छ, कहाँ दोहोरिएको छ, त्यसबारे आयोगले समन्वय गर्ने र त्यससम्बन्धी काम अगाडि बढाइसकेको समेत जानकारी दिए ।

उपाध्यक्ष अधिकारीले जुन निकायले दुई जना मान्छेका लागि रोजगारी सिर्जना गर्दैन, त्यसलाई कर छुट चाहिएको भन्दै कर छुटले सरकारको ऋणमात्र बढाउने काम भएको बताए । ठूलो लगानी भएको र रोजगारी सिर्जना गरिरहेकालाई मात्र कर छुट दिन सकिने उनले स्पष्ट पारे ।