lumbinisarokar.com

अर्थतन्त्र विस्तारमा स्थिर विनिमय दर बाधक, परिवर्तन गर्न यो उपयुक्त समय

हालको विनिमय दर प्रणालीका कारण व्यापारमा भारतको निर्भरता, मूल्यवृद्धि, अस्थिर ब्याजदर, लगानीकर्ताले अल्पकालीन लगानीमा जोड दिनेजस्ता समस्या देखिने गरेका छन् ।

नेपालले २०१७ सालदेखि भारतीय मुद्रा (भारु) सँग स्थिर विनिमय दर लागु गर्दै आएको छ भने २०४९ सालदेखि अन्य मुद्रासँगको विनिमयदर पनि भारुकै आधारमा निर्धारण हुँदै आएको ५ । यसबीच विभिन्न समयमा भारुसँग नेपाली मुद्राको विनिमय दरलाई ७ पटक समायोजन गरिएको छ ।

यसरी समायोजन गर्दा नेपाली मुद्रा ३ पटक बलियो र ४ पटक कमजोर भएको थियो । हाल १ भारु बराबर नेपाली मुद्रा १.६ रुपैयाँ कायम छ । यो विनिमय दर प्रणालीले नेपाली अर्थतन्त्र कमजोर बनाउँदै आएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

हालको विनिमय दर प्रणालीका कारण व्यापारमा भारतको निर्भरता, मूल्यवृद्धि, अस्थिर ब्याजदर, लगानीकर्ताले अल्पकालीन लगानीमा जोड दिनेजस्ता समस्या देखिने गरेका छन् । यसले अर्थतन्त्र विस्तारमा अवरोध सिर्जना गरेको विज्ञहरूको भनाइ छ ।

अर्थतन्त्र विस्तारका लागि हालको विनिमय दर प्रणाली परिवर्तनको यो उपयुक्त समय भएको पनि उनीहरूको भनाइ छ । हालको पर्याप्त विदेशी मुद्रा सञ्चिति र अर्थतन्त्रको अवस्था दुवै हेर्दा विनिमय दर प्रणाली परिवर्तन गर्न उपयुक्त रहेको तर्क उनीहरूको छ ।

‘एक्स्चेन्ज रेजिम’ नै परिवर्तन गरेर लचक विनिमय प्रणााली (फ्लोटिङ) जानुभन्दा पनि स्थिर विनिमय दरलाई गहन समीक्षा गर्न आवश्यक रहेको अर्थशास्त्री डा. पोषराज पाण्डेले बताए ।

स्थिर विनिमय दर प्रणालीमा जाँदा दुवै देशको मूल्यवृद्धि दर उस्तै हुनुपर्ने उनको भनाइ छ । ‘पछिल्लो १० वर्षको नेपाल र भारतको मूल्यवृद्धि हेर्दा रियल इफेक्टिभ एक्स्चेन्ज रेट ३५ प्रतिशतले बलियो भएको अवस्था छ । यथार्थ विनिमय दर अधिमूल्यन भएकै कारण नेपालको निर्यात अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन सकेको छैन । त्यो कारणले गर्दा निर्यात घट्ने र आयात बढेको अवस्था छ,’ उनले भने ।

पेग गरेको रेट गहन समीक्षा गर्दा नेपाली रुपैयाँ झनै कमजोर हुने र महँगी बढ्ने अवस्था आउने उनको बुझाइ छ । त्यसैगरी फ्लोटिङ विनिमय दर प्रणालीमा जाँदा ‘स्पेक्युुलेटिभ एट्याक’ को जोखिम हुने उनको बुझाइ छ ।

हाल १ भारु बराबर नेपाली मुद्रा १.६ रुपैयाँ कायम छ । यो विनिमय दर प्रणालीले नेपाली अर्थतन्त्र कमजोर बनाउँदै आएको अध्ययनहरूले देखाएका छन् ।

त्यसले गर्दा अहिले एक्स्चेन्ज रेजिम नै परिवर्तन गर्नेभन्दा पनि फिक्स गरिएको भारुसँगको विनिमय दरलाई गहन समीक्षा गर्न ढिला गर्न नहुने उनको भनाइ छ । अहिलेको विनिमय दर प्रणालीले अर्थतन्त्रलाई नै गति दिनसमेत बाधक बनेको उनको तर्क छ ।

भारुमा आएको उतारचढावका आधारमा नेपालका लागि अन्य देशको मुद्रासँगको विनिमय दर निर्धारण हुन्छ । भारतीय अर्थतन्त्र सबल भएको खण्डमा नेपाली मुद्रा पनि बलियो हुन्छ । भारतीय अर्थतन्त्र नकारात्मक भएको खण्डमा भारतीय मुद्रा अन्य मुद्राको तुलनामा कमजोर हुन्छ । त्यसको असर नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । नेपाली मुद्रा अन्य मुद्रासँग विनिमय गर्दा स्वदेशी अर्थतन्त्रमा आएको उतारचढावले असर गर्दैन ।

उद्योगी निरञ्जन श्रेष्ठ पनि विनिमय दर प्रणाली परिवर्तन गर्नुपर्ने बताउँछन । ‘तीन दशकभन्दा लामो समयदेखि हामीले १ सय भारु बराबर १ सय ६० नेरुको विनिमय दर चलाइरहेका छौं,’ श्रेष्ठले भने ।

स्थिर राख्दा नेपालको अर्थतन्त्रको तुलनामा भारतको अर्थतन्त्रमा धेरै बदलाव आएको हुँदा त्यही दरमा पेग गरेर प्रतिस्पर्धी बन्न नसक्ने श्रेष्ठको भनाइ छ ।

‘त्यसो हुँदा पुनः मूल्यांकन गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘यो अवधिमा परिवर्तन भएका सूचकका आधारमा करिब १८ देखि २० प्रतिशतले नपाली रुपैयाँ अवमूल्यन गर्नुपर्ने देखिन्छ ।’

सरकारले अर्थतन्त्रमा देखिएका समस्या पहिचान तथा सुधारका लागि सुझाव पेस गर्न भन्दै गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत हालको विनिमय दर प्रणालीको परिवर्तन आवश्यक रहेको सुझाएको छ ।

Exit mobile version