LATEST ARTICLES

सिन्धुपाल्चोकका ३ ठाउँमा पहिरो, अरनिको राजमार्ग पूर्णरुपमा बन्द

३ असार, काठमाडौं । सिन्धुपाल्चोकमा पहिरो र बाढीका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । सोमबार रातिको वर्षाका कारण भोटेकोशी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ । गाउँपालिकाको वडानम्बर २ को कोदारी, ३ को लार्चा र २ कै कोप्लाङमा पहिरो गएको छ । खोलाहरूमा बाढी आएको छ । पहिरो पन्छाउने काम जारी रहेकोले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ । सडक बन्द भएपछि यात्रु मर्कामा परेका छन् । सवारीसाधन सडकमै लाइन लागेका छन् । सोमबारदेखि आएको वर्षाका कारण देशका अन्य मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । ललितपुरस्थित कान्तिलोकपथ, पूर्वपश्चिम राजमार्गअन्तर्गत बिनयी खोला र गुल्मीस्थित कालिगण्डकी करिडोर पनि अवरुद्ध भएको छ । धनकुटाको रवि राके भेडेटार सडक र जुम्लाको जुम्ला-मुगु सडक एकतर्फीमात्रै सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार सबैतिरका सडक खुलाउने प्रयास जारी छ ।  

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

  • राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।
  • शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिला भएको र नतिजा निकाल्ने मिति पनि पछि सरेको हो ।
  • अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा रहेको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले बताए ।
३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो । DC Nepal ‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन आउजाउमा समय गयो । परीक्षण ढिला सुरु भयो । अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन’, परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले भने । अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले बताए । ‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौं। केही ठाउँमा परीक्षण भइरहेको छ । सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौं’, उनले भने । एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी थिए ।

अर्थतन्त्र विस्तारमा स्थिर विनिमय दर बाधक, परिवर्तन गर्न यो उपयुक्त समय

0
हालको विनिमय दर प्रणालीका कारण व्यापारमा भारतको निर्भरता, मूल्यवृद्धि, अस्थिर ब्याजदर, लगानीकर्ताले अल्पकालीन लगानीमा जोड दिनेजस्ता समस्या देखिने गरेका छन् । नेपालले २०१७ सालदेखि भारतीय मुद्रा (भारु) सँग स्थिर विनिमय दर लागु गर्दै आएको छ भने २०४९ सालदेखि अन्य मुद्रासँगको विनिमयदर पनि भारुकै आधारमा निर्धारण हुँदै आएको ५ । यसबीच विभिन्न समयमा भारुसँग नेपाली मुद्राको विनिमय दरलाई ७ पटक समायोजन गरिएको छ । यसरी समायोजन गर्दा नेपाली मुद्रा ३ पटक बलियो र ४ पटक कमजोर भएको थियो । हाल १ भारु बराबर नेपाली मुद्रा १.६ रुपैयाँ कायम छ । यो विनिमय दर प्रणालीले नेपाली अर्थतन्त्र कमजोर बनाउँदै आएको विभिन्न अध्ययनहरूले देखाएका छन् । हालको विनिमय दर प्रणालीका कारण व्यापारमा भारतको निर्भरता, मूल्यवृद्धि, अस्थिर ब्याजदर, लगानीकर्ताले अल्पकालीन लगानीमा जोड दिनेजस्ता समस्या देखिने गरेका छन् । यसले अर्थतन्त्र विस्तारमा अवरोध सिर्जना गरेको विज्ञहरूको भनाइ छ । अर्थतन्त्र विस्तारका लागि हालको विनिमय दर प्रणाली परिवर्तनको यो उपयुक्त समय भएको पनि उनीहरूको भनाइ छ । हालको पर्याप्त विदेशी मुद्रा सञ्चिति र अर्थतन्त्रको अवस्था दुवै हेर्दा विनिमय दर प्रणाली परिवर्तन गर्न उपयुक्त रहेको तर्क उनीहरूको छ । ‘एक्स्चेन्ज रेजिम’ नै परिवर्तन गरेर लचक विनिमय प्रणााली (फ्लोटिङ) जानुभन्दा पनि स्थिर विनिमय दरलाई गहन समीक्षा गर्न आवश्यक रहेको अर्थशास्त्री डा. पोषराज पाण्डेले बताए । स्थिर विनिमय दर प्रणालीमा जाँदा दुवै देशको मूल्यवृद्धि दर उस्तै हुनुपर्ने उनको भनाइ छ । ‘पछिल्लो १० वर्षको नेपाल र भारतको मूल्यवृद्धि हेर्दा रियल इफेक्टिभ एक्स्चेन्ज रेट ३५ प्रतिशतले बलियो भएको अवस्था छ । यथार्थ विनिमय दर अधिमूल्यन भएकै कारण नेपालको निर्यात अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन सकेको छैन । त्यो कारणले गर्दा निर्यात घट्ने र आयात बढेको अवस्था छ,’ उनले भने । पेग गरेको रेट गहन समीक्षा गर्दा नेपाली रुपैयाँ झनै कमजोर हुने र महँगी बढ्ने अवस्था आउने उनको बुझाइ छ । त्यसैगरी फ्लोटिङ विनिमय दर प्रणालीमा जाँदा ‘स्पेक्युुलेटिभ एट्याक’ को जोखिम हुने उनको बुझाइ छ ।
हाल १ भारु बराबर नेपाली मुद्रा १.६ रुपैयाँ कायम छ । यो विनिमय दर प्रणालीले नेपाली अर्थतन्त्र कमजोर बनाउँदै आएको अध्ययनहरूले देखाएका छन् ।
त्यसले गर्दा अहिले एक्स्चेन्ज रेजिम नै परिवर्तन गर्नेभन्दा पनि फिक्स गरिएको भारुसँगको विनिमय दरलाई गहन समीक्षा गर्न ढिला गर्न नहुने उनको भनाइ छ । अहिलेको विनिमय दर प्रणालीले अर्थतन्त्रलाई नै गति दिनसमेत बाधक बनेको उनको तर्क छ । भारुमा आएको उतारचढावका आधारमा नेपालका लागि अन्य देशको मुद्रासँगको विनिमय दर निर्धारण हुन्छ । भारतीय अर्थतन्त्र सबल भएको खण्डमा नेपाली मुद्रा पनि बलियो हुन्छ । भारतीय अर्थतन्त्र नकारात्मक भएको खण्डमा भारतीय मुद्रा अन्य मुद्राको तुलनामा कमजोर हुन्छ । त्यसको असर नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । नेपाली मुद्रा अन्य मुद्रासँग विनिमय गर्दा स्वदेशी अर्थतन्त्रमा आएको उतारचढावले असर गर्दैन । उद्योगी निरञ्जन श्रेष्ठ पनि विनिमय दर प्रणाली परिवर्तन गर्नुपर्ने बताउँछन । ‘तीन दशकभन्दा लामो समयदेखि हामीले १ सय भारु बराबर १ सय ६० नेरुको विनिमय दर चलाइरहेका छौं,’ श्रेष्ठले भने । स्थिर राख्दा नेपालको अर्थतन्त्रको तुलनामा भारतको अर्थतन्त्रमा धेरै बदलाव आएको हुँदा त्यही दरमा पेग गरेर प्रतिस्पर्धी बन्न नसक्ने श्रेष्ठको भनाइ छ । ‘त्यसो हुँदा पुनः मूल्यांकन गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘यो अवधिमा परिवर्तन भएका सूचकका आधारमा करिब १८ देखि २० प्रतिशतले नपाली रुपैयाँ अवमूल्यन गर्नुपर्ने देखिन्छ ।’ सरकारले अर्थतन्त्रमा देखिएका समस्या पहिचान तथा सुधारका लागि सुझाव पेस गर्न भन्दै गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत हालको विनिमय दर प्रणालीको परिवर्तन आवश्यक रहेको सुझाएको छ ।

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, केरलमा सबैभन्दा बढी संक्रमित

काठमाडौं । भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड-१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ । मन्त्रालयका अनुसार भारतभरि कुल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरल राज्यमा देखा परेका छन् । जहाँ ४०३ जना सक्रिय संक्रमित छन् । यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन् । यसैगरी उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९/९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १/१ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोना संक्रमणको बढ्दो जोखिमको बारेमा कर्नाटकका स्वाथ्यमन्त्री दिनेश गुन्डु रावले यसबारे धेरै चिन्ता लिनु नपर्ने बताउँछन् । उनले भने, ‘दक्षिण पूर्वी एसियाली देशहरूमा कोरोना महामारी बढिरहेको सुनेको छु । यो संक्रमण त्यति धेरै जोखिमयुक्त छैन । भातरमा देखा परिरहेको कोरोना संक्रमण पनि हल्का प्रकारको हो ।’ महाराष्ट्र र अन्य केही ठाउँहरूमा केही मानिस मृत्यु भएको खबर बाहिर आएका छन्, तर ती मानिसको मृत्यु कोभिड-१९ सँग प्रत्यक्ष रूपमा सम्बन्धित छैनन् । यी केसहरूमा अन्य रोगहरू पनि थिए, उनले भने । तर पनि संक्रमणबारे सतर्क रहनुपर्ने उनको भनाइ छ । कोरोना जोखिमबारे निगरानी बढाइएको र केही सावधानीहरू पनि अपनाउने काम भएको उनले बताए ।

मायादेवीका ८ पशुपालकलाई भैसी बितरण

कपिलवस्तु,  ७ जेठ । जिल्लाको मायादेवी गाउपालिका वडा नम्बर ५ सिसहनिया र वडा नम्बर ४ गौरामा ८ जना पशुपालक किसानलाई भैसी बितरण गरिएको छ । इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा लुम्बिनी एकिकृत बिकास संस्था (लिडो नेपाल) ले सञ्चालन गरेको न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिवृद्धि परियोजना अन्र्तगत आय आर्जनमा सहयोग पुर्याउने उद्धेश्यले भैसी बितरण गरिएको हो । प्रति पशुपालक लाभग्राहीलाई बिमा र यातायात खर्च सहित ४६ हजार ४ सय ४० मुल्य बराबरको भैसी सहयोग गरिएको हो । सिसहनीयामा लिडो नेपालका सदस्य ओम प्रकाश गुप्ता, वडा नम्बर ५ का अध्यक्ष राधवेन्द्र प्रसाद पाण्डेय र वडा सदस्य राजकुमार कलवारले छनौटमा परेका पशुपालकलाई भैसी बितरण गरेका थिए । त्यसै गरि वडा नम्बर ४ गौरामा संस्थाका सदस्य गुप्ता, वडा सदस्य हृदयराम यादव र वडा सचिव शिवगुलाम कलवारले भैसी बितरण गरेका थिए । न्यून आय भएका र संकटासन्न समुदायहरुको आजआर्जनमा बृद्धि गरि जिवनस्तरमा सुधार ल्याउने उद्धेश्यका साथ भैसी बितरण गरिएको कार्यक्रमका कृषी अधिकृत सोहन गुप्ताले बताए ।स्थानिय तह सँगको सहकार्यमा न्यून आय भएका र संकटासन्न समुदायका सदस्य छनौट गरि भैसी बितरण गरिएको कार्यक्रम म्यानेजर शुसिल कुमार चौधरीले बताए । पशुपालक कृषकलाई पशुपालन व्यवस्थापन सहयोग कार्यक्रम अन्र्तगत सहयोग गरि आयआर्जनमा टेवा पुर्याउने लक्ष्य राखिएको लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले बताईन । कार्यक्रममा मायादेवी गाउँपालिकाको वडा नम्बर २,४,५,७,८ र शुद्धोधन गाउँपालिकाको वडा नम्बर १,२ र ३ नम्बर वडाका पशुपालक लाभग्राहीलाई १ सय ३० बाख्रा र ७० भैसी बितरण गर्ने योजना रहेको कार्यकारी निर्देशक बेल्बासेले स्पष्ट पारिन ।

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष लागुऔषध कसूरदार ठहर

बुटवल, २९ फागुन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्तालाई लागुऔषध कसूरमा एक वर्ष कैद र दुई लाख रुपैया जरिवानाको सजाय तोकिएको छ । जिल्ला अदालत नवलपरासीका न्यायाधिश केशवप्रसाद अधिकारीको इजलासले गत साता गुप्तालाई लागुऔषधमा कसूरदार ठहर गरेको थियो । कसूर ठहरपछि विहिबार भएको सजाय निर्धारण फैसलामा गुप्तालाई उक्त सजायको फैसला भएको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले बताए । उक्त सजायबाहेक गुप्तालाई ‘क्षतिपुर्ति शुल्कपीडित राहत कोष’ मा आठ हजार जरिवाना दाखिला गर्नुपर्ने पनि फैसलामा उल्लेख छ । यसैगरि अध्यक्ष गुप्तासँगै लागुऔषधमा कसूरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला भएको छ । लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने र त्यसको आधारमा अध्यक्ष गुप्तालाई आधा सजाय हुने गरी सजाय निर्धारणको पेशी तोकिएको थियो । धोबीलाई गरिएको उक्त सजायको आधारमा अध्यक्ष गुप्तालाई एक वर्ष कैद र २ लाख जरिवाना तोकिएको हो । लागुऔषध अभियोगमा २०७९ असोज २६ गतेदेखि पुर्पक्षमा रहेका धोबीले पटक पटक लागुऔषधमा कसूरदार देखिएकाले थप एक वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ । धोबीले ‘क्षतिपुर्ति शुल्कपीडित राहत कोष’ मा १८ हजार दाखिला गर्नुपर्ने पनि फैसलामा भनिएको छ । धोबी पाल्हीनन्दन गाँउपालिकामा रहेको आधारभूत अस्पतालका सुरक्षा गार्डसमेत हुन् । अध्यक्ष गुप्तासहित लागुऔषध मुद्दामा पाँच जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये रामा गुप्ता भन्ने रामा साह र जीतेन्द्र पासवानले सफाई पाएका छन् । अभियोग लागेका पाल्हीनन्दन गाउँपालिका– ३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे अझै फरार छन् । पाण्डेको मुद्दा मुलतबी (फरार रहेकाले कारबाही स्थगन) मा राखिएको अदालतले जनाएको छ । यसैबीच कैद र जरिवाना फैसला भएका अध्यक्ष गुप्ताले अब कानुनी व्यवस्थाअनुसार धरौटी राखेर पुनरावेदन गर्न पाउने छन् । थुनामा बस्नु नपर्ने भएपछि गुप्ताको अध्यक्ष पदसमेत कायम नै रहने जनाईएको छ । अध्यक्ष गुप्तालाई २०७९ सालमा दुई जना व्यक्तिलाई फसाउने उदेश्यले लागुऔषध सहितको झोला फ्याँकेर षडयन्त्र रचेको भन्दै दोषी ठहर गरेको थियो ।

एकपछि अर्को वडा बालविवाह मुक्त घोषणा

बर्दिया, २८ बैशाख । बर्दियाको मधुवन नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत सो पालिकाका वडाहरुलाई एकपछि अर्को गरि बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यलाई तीव्र पारिएको छ । सो क्रममा पछिल्लो पटक मधुवनको वडा नं. ६ लाई एक भव्य कार्यक्रमकाबिच मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले बालविवाहमुक्त वडा घोषणा गरेका छन् । सो अवसरमा बोल्दै मेयर भाटले तीन वर्षभित्र मधुवनमा बालविवाह दर शून्यमा झार्ने र वि.सं. २०८५ सालभित्र सम्पूर्ण वडालाई बालविवाहमुक्त घोषणा गर्ने गरि पालिकाका काम भइरहेको बताए । उनले सोही अवसरमा हस्ताक्षर अभियानको उदघाटन गर्दै उपस्थित सरोकारवालाहरूबाट १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गराए । वडा नं. ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भएको बालविवाहमुक्त घोषणा कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, अभिभावक, राजनीतिक दल, विद्यार्थी, प्रहरी लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बि.ग्रुपको साझेदारी, प्राविधिक सहयोग र समन्वयमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले बालबिवाहमुक्त घोषणा मात्रै नभई यसको प्रभावकारी कार्यान्वयन र फ्लोअप कार्यक्रम सञ्चालनमा जोड दिँदै बाँकी वडाहरूमा पनि सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सो घोषणा कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिक, बि.ग्रुपका कार्यकारी निर्देशक डम्मर बिक, कार्यक्रम प्रबन्धक भानु लिम्बु, शिक्षा प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्मा, प्लान इन्टरनेशनल नेपाल बर्दिया जिल्ला कार्यक्रम अधिकृत सुश्मा घर्ती मगर र वडा अध्यक्षका प्रतिनिधि दिलिप गुरुङ लगायतले मन्तव्य व्यक्त गर्दै कार्यान्वयन पक्षलाई सशक्त बनाउँदै अन्य वडालाई पनि घोषणा गर्दै जानुपर्नेमा जोड दिएका थिए । मधुवन नगरपालिका बालविवाह न्यूनीकरण कार्यविधि २०७७ अनुसार १५ प्रतिशत भन्दा कम बालविवाह दर भएका वडालाई बालविवाहमुक्त वडा घोषणा गर्न सकिने प्रावधानअनुसार, हाल वडा नं. ६ को बालविवाह दर १३ प्रतिशत रहेको हुँदा यसलाई बालविवाहमुक्त वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ । मधुवन नगरपालिकामा बालविवाह न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउने बाँके युनेस्को क्लब, बि.ग्रुप, प्लान इन्टरनेशनल नेपाल, महिला स्वयंसेविका, किशोरी क्लब, अगुवा बडाघर, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, दलित महिला संघ लगायत विभिन्न सांस्कृतिक समूहहरूलाई कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

रिब्दीकोटको निर्णयविरुद्ध अदालतको कारण देखाउ आदेश

पाल्पा, ३१ वैशाख । रिब्दीकोट गाउँपालिकाले भैरवनाथ मन्दिर ब्यवस्थापन समिति गठन गरेकोमा उच्च अदालत तुलसीपुर बुुटवलले कारण देखाऊ आदेश जारी गरेको छ । रिब्दीकोट गाउँपालिका–४ ले मन्दिर व्यवस्थापन समिति गठन ऐनविपरीत गरेको भन्दै आइतबार परेको निवेदनमा उच्चले मंगलबार कारण देखाऊ आदेश जारी गरेको हो । उच्चका न्यायाधीश नारायण प्रसाद पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरी अन्तरिम आदेशका लागि छलफलमा झिकाउन भनेको छ । अदालतले अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफलका लागि जेठ ६ गते दुवै पक्षलाई झिकाउन आदेश गरेको हो । निवेदकको तर्फबाट अधिवक्ता नारायण प्रासाद ज्ञवाली र हिमलाल न्यौपानेले वहस गरेका थिए । आदेशमा निवेदकको मागबमोजिमको आदेश जारी हुनु नपर्ने कारण देखाउन भनिएको छ । “निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार कारण भए सो खुलाई बाटोको म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १, २, ४ र ५ को हकमा आफै वा कानुन बमोजिम प्रतिनिधिमार्फत र विपक्षी नं. ३ को हकमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमार्फत लिखित जवाफ पेस गर्न र अन्तरिम आदेशसमेत माग भएको सम्बन्धमा दुवै पक्षको कुरा सुनी अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने सम्बन्धमा छलफलका लागि जेठ ६ गते दुवै पक्षलाई जानकारी गराउनू,” आदेशमा उल्लेख गरिएको छ । समिति गठन संघीय सरकार अन्तर्गत गुठी संस्थान ऐन २०३३ को दफा १६ र १७ बमोजिम देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी निर्देशिका २०८१ विपरित रहेको रिट निवेदकको दावी छ । मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्द बहादुर पोखरेलले रिब्दीकोट गाउँपालिका –४ का वडा अध्यक्ष सोमबहादुर कार्की, मालपोत कार्यालय पाल्पा, गुठी संस्थान प्रधान कार्यालय, दिलिप रायमाझी र गठित मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका थिए । पोखरेल नेतृत्वमा रहेको समितिको २०८१ साउन २ गते पदावधि सकिएको पछि वडा कार्यालयले गुठी संस्थानको स्वीकृती विना २०८१ कात्तिक २७ गते वडाध्यक्ष सोमकुमार कार्कीको अध्यक्षतामा भेला गरी नयाँ समिति गठन गरेको थियो । स्थानीय सरकारले आफू अनुकूल समिति गठन गरेपछि विवाद बाहिर आएको हो । गुठी संस्थानको निर्देशिका २०८१ अनुसार वडा भेलाबाट समिति गठन गर्नुपर्ने प्रावधान भए पनि त्यसो गरेको पाइँदैन ।

राप्ती गाउँपालिकामा आगामी बजेटका लागि सुझाव संकलन

बुटवल । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले बिहीबार पालिकामा क्रियाशील सरोकारवाला ,विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल कार्यक्रम आयोजना गर्दै बजेट निर्माणका लागि सुझावहरू संकलन गरेको हो। कार्यक्रम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा पूर्वमन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य थारुले नीतिगत रूपमा विकासका प्राथमिकता निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याउनुका साथै, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै जनताको आवश्यकता केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्ने सुझाव दिए । उनले सर्वपक्षीय छलफल र सुझाव संकलनको प्रक्रिया सकारात्मक अभ्यास भएको उल्लेख गरे । गाउँपालिकाका अध्यक्ष विष्टले नागरिकहरूको सल्लाह र सुझावलाई एकीकृत गरी नीति तथा कार्यक्रम निर्माण गरिने जानकारी दिए । उनले सीमित स्रोतसाधनका कारण सोचेजस्तो विकास गर्न नसकिएको उल्लेख गर्दै, पूर्वबजेट छलफलले वास्तविक समस्या पहिचान गर्न र आवश्यकता आधारित बजेट बनाउने कार्यमा सहजता ल्याउने धारणा राखे । उपाध्यक्ष कमलापती चौधरीले पूर्वबजेट छलफलको अभ्यासले बजेट लक्षित वर्गसम्म पुग्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसैगरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सहभागीहरूको सल्लाहअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माण गरिने जानकारी दिए । छलफलमा सहभागीहरूले न्यूनतम आधारभूत आवश्यकताहरूलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिएका थिए । गाउँपालिकाले अन्य क्षेत्रका सरोकारवालासँग पनि निरन्तर छलफल जारी राख्ने जनाएको छ।

लुम्बिनी सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने

दाङ, १२ जेठ । लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ लाई भव्य र रचनात्मक रूपमा तीन दिनसम्म विविध कार्यक्रमसहित मनाउने भएको छ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तीन दिन विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। गणतन्त्र दिवस मूल समारोह समिति गठन गरी जेठ १४, १५ र १६ गते विशेष कार्यक्रमहरू आयोजना गरिनेछ। मुख्यमन्त्री आचार्यले बैठकलाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै त्यसको संरक्षणमा सबै एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए। “गणतन्त्र र यसको उपलब्धिका विरुद्ध केही तत्त्वहरू सक्रिय हुन खोजिरहेका छन्। हामी गम्भीर र संवेदनशील भएर यसको रक्षा गर्नुपर्ने जिम्मेवारीमा छौँ,” उनले भने। तीन दिनका कार्यक्रम यस्ता छन्:
  • जेठ १४ गते: प्रदेशभरका सरकारी कार्यालयमा राष्ट्रिय झन्डा फहराइनेछ र कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ।
  • जेठ १५ गते: जनसहभागितासहित झाँकीसहितको भव्य प्रभात फेरीको आयोजना गरिनेछ। भालुबाङबाट सुरु हुने पाँच किलोमिटर लामो प्रभात फेरी प्रदेशसभा परिसरमा समापन गरिनेछ, जहाँ शुभकामना आदानप्रदान कार्यक्रम हुनेछ।
  • जेठ १६ गते: दीपावली कार्यक्रमको आयोजना गरिनेछ भने सञ्चारमाध्यममार्फत गणतन्त्र दिवससम्बन्धी अन्तरवार्ता तथा विशेष सामग्री प्रवाह गरिनेछ।
सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र उपलब्धिहरूलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले दिवसलाई रचनात्मक रूपमा मनाउन लागेको जनाएको छ।