Home स्थानीय सरोकार राप्ती गाउँपालिकामा आगामी बजेटका लागि सुझाव संकलन

राप्ती गाउँपालिकामा आगामी बजेटका लागि सुझाव संकलन

0
राप्ती गाउँपालिकामा आगामी बजेटका लागि सुझाव संकलन

बुटवल ।

दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिकाले बिहीबार पालिकामा क्रियाशील सरोकारवाला ,विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल कार्यक्रम आयोजना गर्दै बजेट निर्माणका लागि सुझावहरू संकलन गरेको हो। कार्यक्रम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा पूर्वमन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य थारुले नीतिगत रूपमा विकासका प्राथमिकता निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याउनुका साथै, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै जनताको आवश्यकता केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्ने सुझाव दिए । उनले सर्वपक्षीय छलफल र सुझाव संकलनको प्रक्रिया सकारात्मक अभ्यास भएको उल्लेख गरे ।

गाउँपालिकाका अध्यक्ष विष्टले नागरिकहरूको सल्लाह र सुझावलाई एकीकृत गरी नीति तथा कार्यक्रम निर्माण गरिने जानकारी दिए । उनले सीमित स्रोतसाधनका कारण सोचेजस्तो विकास गर्न नसकिएको उल्लेख गर्दै, पूर्वबजेट छलफलले वास्तविक समस्या पहिचान गर्न र आवश्यकता आधारित बजेट बनाउने कार्यमा सहजता ल्याउने धारणा राखे ।

उपाध्यक्ष कमलापती चौधरीले पूर्वबजेट छलफलको अभ्यासले बजेट लक्षित वर्गसम्म पुग्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सहभागीहरूको सल्लाहअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माण गरिने जानकारी दिए । छलफलमा सहभागीहरूले न्यूनतम आधारभूत आवश्यकताहरूलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिएका थिए । गाउँपालिकाले अन्य क्षेत्रका सरोकारवालासँग पनि निरन्तर छलफल जारी राख्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here